काठमान्डौ — कांग्रेस सभापति शेरबहादुर देउवाले अबको उपनिर्वाचनमा कांग्रेसका उमेदवार विजय भए पार्टीको आन्तरिक कहल अन्त्य हुने दाबी गरेका छन् ।

आइतबार बिहान पार्टीका कार्यकर्तासँगको छलफलमा उनले आगामी मंसिर १४ गते हुने उपनिर्वाचन कांग्रेसको एकताको परीक्षा भएको बताए । प्रतिनिधि र प्रदेशसभा निर्वाचनका समयमा पार्टीभित्रको मतभेदका कारण थिलिएको कांग्रेसलाई पुनः जगाउन उपनिर्वाचन महत्वपूर्ण रहने उनको भनाइ छ । ‘अरु दुई पार्टी मिलेर एक भएका थिए हाम्रो एउटै पार्टी दुइटा देखिएको जगजाहेर छ,’ उनले भने ,‘यो उपनिर्वाचनको नतिजा हाम्रो एकताको परीक्षा बन्नेछ ।’

कांग्रेसभित्र गुट(उपगुटको अन्त्य गर्न आफ्ना उमेदवारलाई जिताउनुपर्ने उनले औंल्याए । स्थानीय तहहरुमा हुने उपनिर्वाचनका लागि कांग्रेसले जिल्लाबाट उम्मेदवार तोकिसकेको छ । संघ र प्रदेशमा हुने निर्वाचनका लागि आइतबार साँझ बस्ने केन्द्रीय समितिको बैठकले उम्मेदवारको टुङ्गो लगाउने बताइएको छ । उम्मेदवार छान्दा जनतामाझ लोकप्रिय नेतालाई छान्न उनले कार्यकर्तालाई आग्रहसमेत गरे । सहमतिमा चुनिएका उम्मेदवारलाई नै उपनिर्वाचनमा उठाइने पार्टी सभापति देउवाको दाबी छ ।

पार्टीका भ्रातृसंगठनहरुको विवादलाई समेत सम्बोधन गर्ने गरी केन्द्रीय समितिको बैठकबाट निर्णय आउने देउवाले दाबी गरेका छन् । ‘पार्टीलाई बलियो बनाउने बेला आफैंबीचका विवादमा अल्झिएर समय खेर फाल्नु हुन्न,’ देउवाले भने,‘अब केन्द्रीय समिति बैठकले सबै निर्णय गरी साम्य गर्नेछ ।’ केन्द्रीय समिति निर्णय नमान्नेलाई कारबाही हुने उनले चेतावनी दिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here